दिदीको चिठ्ठी ----- टासी टेवा डोल्पो #gender #dolpo #violence


           सधैं झैं घरका नजिकै बस्ने चेङा मलाई तल्लो गाउँमा हुन लागेको भेलामा वोलाउन आई । खै के को लागि वोलाइएको थियो– त्यो भेला मलाई यादै भएन । खैर, गाईवस्तुलाई खाना दिई, कोठा सफा गरि र केही खाजा आफ्नो ढाडमा वोकी अरु छिमेकीहरुलाई पनि थाहा दिएँ भेलाको वारेमा । गुम्वा गाउँ जहाँ १२ जति घरधुरी छ, वीचको गाउँ, जहाँ मेरो समेत १० घरधुरी छ र तल्लो गाउँ जहाँ १५ घरधुरी समेत स्कूल पनि छ । मेरो गाउँको नाम ‘मु’ हो, जुन माथिल्लो डोल्पाको मुकोट गा.वि.स मा पर्दछ । जिल्लाको एयरपोर्टवाट समेत कम्ती ५ दिन पैदलयात्रा गर्नुपर्दछ तर त्यो प्लेन त मैले विरलै प्रयोग गरें, कस्तो महँगो र कस्तो गाह्रो त्यो टिकट काट्न । धेरैचोटि कम्ती ४,५ दिन जुफाल एयरपोर्टमा विताएको याद पनि छ । धेरै गाउँलेहरुले एयरपोर्टमा त्यतिकै बस्न वाध्य भएको र कोही त टिकट नपाएर जाजरकोट र रुकुमको ४,५ दिनको गाह्रो वाटो हिंडेका पनि छन्, सोलोवनवाट काठमाडौंको बस भेट्न । म धेरै जस्तो मुस्ताङको तिरी हँुदै झण्डै ५००० मिटरको उचाइमा रहेको ३ वटा लेक काटेर करिब ४,५ दिनको पैदल यात्रा गरेर काठमाडौंवाट म मेरो गाउँ पुग्छु । काठमाडौं जान परे पनि म त्यही मार्ग प्रयोग गर्छु । त्यही विकटताको कारणले होला त यहाँ न त स्कुलमा शिक्षक, न त चौकी र पुलिस नै छन् । नामको स्वास्थ्य सेवा पनि छैन । धेरै जसो गाउँमा हुने सानो तिनो घटना गाउँको भेलाले नै मिलाउँछ । तर, भेला धेरै जसो यहाँ अलि विश्वासिलो र जान्नेसुन्ने २,३ जना पुरुषको अध्यक्षतामा हुन्छ । त्यस्तै एउटा भेला हुन गई रहेको थियो त्यो दिन तर खै कस्लाई थाहा थियो र त्यो दिन मलाई त्यस्तो होला भनी । 






मेरो नाम किन्जोम हो । मेरो बृद्ध वुवाको कान्छी छोरी तर माया कम नसिब भएको । म उहाँको जेठी श्रीमतीको छोरी तर आमा म सानै हँुदा वित्नु भयो । जसोतसो वावाले हेर्नु भयो र म हुर्कें पनि । खै उहाँको छोराहरु संग खट्पट भइरहन्थ्यो जस्ले गर्दा अहिले आएर उहाँ म संग हुनुहुन्छ । त्यसैले पनि होला, त्यो घटना घटेको आज १० दिन वित्दा पनि मेरो वावा अझै रुनु हुन्छ । हो, अलि थाहा दिनु हुन्न मलाई तर छोरी न परे, थाहा पाई हाल्छु । मेरो एकल जिवनको सहयोगी । खै, हुन त हेरचाह गर्छु, हरदम हरवखत मेरो ७० वर्ष वावाको र अहिले लागि रहेको छ, उहाँ मात्र हो मलाई हरवखत हौसला प्रदान गर्ने । “छोरी भएर के भो त, छोराहरुले भन्दा बढी माया गरेको छेस् तँैले मलाई । यो वुढो शरिरमा सास रहुन्जेल, तँलाई केही हुनदिन्न । ” जब जब त्यो भन्नुहुन्छ, आँखा भरि आँसु कहिल्यै टुट्दैन । 

त्यसै डोल्पो संस्कृती अनुसार आजभन्दा झण्डै २० वर्ष अघि मेरो दुई भाइसंग विवाह भयो । पहिलो श्रीमान् विवाह भएको १५ वर्ष पछि जीम्बु टिप्न जाँदा खोलामा खसी वित्नु भयो । जीम्बु यहाँ धेरैजसो तरकारीमा र अरुलाई नासोको रुपमा प्रयोगमा ल्याइएको छ । छुट्टै समस्या छ, जिम्बु टिप्न जान पनि । दोस्रो श्रीमान् भने रक्सीको उन्मादमा चढेको घोडाले फाली दिँदा टाउको ढुङगामा वजारिँदा वित्यो । वितेको केही समय पछि श्रीमान पट्टिकोले मलाई भन्नुसम्मन् भन्यो । एकदिन त मलाई विहानै भेटेर भन्दैथियो, “मेरो त अगाडि, पछाडि, दाहिने, वायाँ, वच्चै, वच्चा छ अहिले, खै तेरो त ?” अचानक हातमा वालुवा समात्दै वालुवा छोड्दै “ल ! यति सम्म पनि छैन !” खाली हात देखाउँदै र मेरा वितेका श्रीमानहरुलाई इंगित गर्दै । खै, उनलाई मैले नै उसको भाइहरु मारें भन्ने लाग्दो हो तर उनीहरु त मर्नुको कारण म कदापि हैन । फेरि केहि दिन वित्ननपाउँदै पछि कुलोको पानीको आडमा फेरि मलाई निहँु खोज्न थाल्यो । भित्रवाट उसको श्रीमान पनि कराउन थाल्यो मलाई, “धेरै नकराउनु म छु यहाँ ।” त्यसपछि म नाजावाफ भएँ । फेरि एकदिन हिउँदमा उसको श्रीमान्ले उसकोे घर अगाडिको हिउँहरु सबै मेरो घर माथि फाल्न थाल्यो । मेरो घरको ठिक माथिपट्टि उनीहरुको घर छ । यहाँतिरको घर माटो र काठले मात्र वनेको हुन्छ र हिउँले गर्दा माटोको जग भत्काउन पनि वेर लगाउँदैन । हिउँ त परेको परेकै नै थियो । मैले फेरि “दाई यहाँ यसरी हिउँ नफाल्नु होला, मेरो घर भत्किने डर हुन्छ” भन्दा उल्टो मलाई झपार्न थाल्यो र भन्न थाल्यो, “कहाँ हिउँले पनि घर भत्किन्छ र ? जहाँ फाले पनि मेरै मर्जी, तिमीसंग मेरो केही लिनुदिनु छैन ।” त्यति भनेपछि मैले उत्तर फर्काउनु नपाउँदै चेङा हत्तनपत्त आएर मलाई तानेर लग्यो । आफ्नो घरवाट एकदिन परको माइती आएको साह्रै मिलनसार चेङाले वुझेकी थिई रिच्योले कुट्न पनि वेर लगाउँदैन भनेर मलाई । त्यो वाहेक १० चोटिभन्दा वढी गाउँको भेलाले रिच्यो दाम्पति र मलाई झगडा गरेको आरोपमा ५,००० देखि रु. १०,००० सम्मको जरिवाना तिराइ सकेको छ । अहिलेसम्म मैले त्यस्तो प्रतिकार गरेको छुइन, सहेरै बसेको छु । त्यसैले गर्दा पनि हो, धेरै हेपेको हेपै छ । फेरि म, वावा र चेङा मिलेर हिउँ फाल्यौं । रातभरि जाडोले फेरि सुत्न गाह्रो भएको थियो । वावा पनि जाडोले कठाङग्रिएको थियो । चेङाले वनाएको घिउको चिया पिउँदै र हाँसखेलमा त्यो रात पनि वित्यो । तर तैपनि खै किन झण्डै मार्यो मलाई, त्यो भेलाको दिन ! त्यो दिन सम्झिँदा मन अझै झस्किन्छ र जीउ काम्न सुरु हुन्छ । अझै पनि छोरीको अनुहार र त्यसपछि वावाको न्यानो सहारामा बाँचेकी छु ।      
  
म भेलामा पुग्दा रिच्यो त्यहाँ पुगि सकेको थियो तर उसको श्रीमति छेप्तेन पुगेकी थिइन । भेलामा धेरै जसो गाउँमा घरको कामले गर्दा घरको एकजना तथा पुरुषलाई मात्र सकेसम्म निमन्त्रणा दिइने पहिलेको चलन छ । यहाँ आमाको कोखवाट शिशु छोरी भएमा ढोका माथिको बायाँपट्टि कालो ढुङ्गा राख्ने चलन छ, छोरा जन्मे दायाँमा सेतो ढुङ्गा । छोरी ठुली भएपछि अंश दिने चलन त छ तर छोराको वरावर कदापि हैन । घरभित्र या वाहिर अलि वोल्दै हिंडेमा गाली गर्दै ‘बोम्नाग’ (कालो केटी, अलक्षिणाको नमुना) भन्ने चलन पनि छ यहाँ । त्यसले पनि होला भेलाको अध्यक्षतामा महिला एकजना पनि छैन । आइमाइ समस्या तथा झैझगडा मिलाउन परेमा पनि भेलाका पुरुषहरुले नै मिलाउँछन् । कसैले त्यति आवाज पनि उठाएको छैन । आइमाइ र साथीसंगी भित्रभित्रै गुनासो गर्ने त प्रशस्तै छन् । चाहे त्यो खेताला गर्न जाँदा होस् या कसैको विवाहमा हुने भोज भतेरमा होस् । 

भेलामा सुरुहुने वित्तिकै धेरै पुरुषहरु छ्याङमा उन्मत्त भईसकेका थिए । यस्तै करिव दिनको १ वजिसकेको थियो होला । विचमा एकछिन त्यति हल्ला भएन । गाइगुँइ त सुनिन्थ्यो । यत्तिकैमा गाउँघरमा हुने हिसाबको उक्त भेलाले कुरा गर्न थाल्यो । यस समय भेलाले धेरै जसो जस्तो हिसाबको लेनदेन गर्ने गरेको छ । प्रायः जसो कसैले जरिवाना अझै तिरेको छैन, भनेपनि यस भेलाले फेरी उक्त व्यक्तिवाट भुक्तानी असुल्ने चलन छ । छ्याङ चैं धेरैजसो हरेक घरको पालैपालो जिम्मा हुन्छ जसको लागि उक्त भेलाले नै पैसा दिन्छ । खासै त्यस्तो आम्दानी केही पनि हँुदैन, त्यसबाट । मिठो छ्याङ वनाउन कहाँ सजिलो छ र । २,३ महिना लगाएर उवाँ रोप अनि फेरि भित्र्याउ र फेरि उवाँको दानाहरु छुट्याउ र बल्ल उक्त उवाँको दाना छ्याङ वनाउन तयार हुन्छ । तैपनि फेरि मिठो छ्याङको लागि अलि सकेसम्म बलको प्रयोग गर्नु पर्ने हुन्छ र उक्त उवाँको दानावाट आएको झोलले तयार हुन्छ, छ्याङ ।  मेरो पनि पोहोर सालको ३ जग छ्याङको हिसाब अझ बाँकी थियो । त्यसको वारेमा पनि मैले भने । जवाफमा तेम्बाले मलाई भन्यो, “हुन त, तिमी सत्य नै होला तर त्यति खेर समाजको लागि थियो भने कस्को हातमा दियौ, केहि याद छ ?”े आफुहरुले खाएको पनि कस्लाई के याद हुन्थ्यो र, मनमनै भन्दै मैल पनि, “अँ, ग्याल्जेन र राब्जेले लगेको थियो” भनेर भने । त्यसपछि तेम्बाले के भन्न लागेको थियो त्यत्तिकैमा रिच्योले चर्को स्वरमा भनी हाल्यो, “समाजको ठगलाई विश्वास गरेर पैसा दिने हैन है,” के भन्दै थियो, मैले वास्ता गर्न जरुरी ठानिन । 

फेरि पनि उफ्रिदैं र बुरुक बुरुक उफ्रदैं कुकुरभन्दा नराम्रो भुकाइ भुक्न थाल्यो, “वल्ल मेरो पुस्तौंदेखिको पित्तृशत्रु फेला पर्यो ” भनेर मेरो चुल्ठोलाई समाती हाल्यो । म त एकछिन अचल अवस्थामा परें । के गर्ने गर्ने भयो । त्यहिपनि जसोतसो गरेर आफ्नो कपाललाई उसको हातवाट छुट्याई हालें र भाग्न थालें, स्कुल तर्फ र “गुहार, गुहार, मलाई रिच्योले मार्न लाग्यो, यो गाउँलेहरु अब तपाईंहरु यो अन्यायको साक्षी बस्न पर्यो ” भन्दै रुन र कराउन पनि थालें । टाउको बेस्मरी दुख्यो र मुटुको धड्कन पनि डरले ढुकढुक गरेको गरेकै थियो । अरु केहि सोच्न नपाउँदै, रिच्यो मेरो पछि पछि दौडेर आएको पत्तै भएन र फेरि मेरो चुल्ठो समातेर मलाई घिसार्न थाल्यो र अलि पर घिसार्यो पनि । मैले फेरि उम्किन नखोजेको हैन तर रिच्यो जस्तो अग्लोसँग जोरि खोज्न म सक्दिन थिएँ । त्यत्तिकैमा छरछिमेकहरु महिलाहरुको पनि त्यहाँ रुवाबासी चल्यो । उनीहरुको हजारौं कोसिसको बावजूद पनि रिच्योको लाटो बलसंग केहि पनि लागेन । कोही भने समाजको पुरुषहरुलाई पनि गुहार माग्न थाले । कसैले भने, “हे छोड्या हुन्छ, जे गरे गर्न देऊ तिनीहरुलाई ।” केहि बेरमै मेरो कपाल जरैवाटै उखेलेको जस्तो पनि लाग्यो । 

केहि अरु वेर घिसारेको भए त सबै उखेल्थ्यो पनि, त्यतिकैमा रिच्योको हातमा कसैले लात हानेको जस्तो लाग्यो । पछि गएर थाहा भयो तेम्बा रहेछ जस्ले गर्दा मात्र रिच्योले छोड्यो । मैले त केहि भन्न नपाउँदै फेरि रुँए र चिच्याउन थालें रिच्योलाई, “मैले तेरो के विगारेको थिएँ र, नामर्द ।” एकछिन पछि सबै छिमेकीका महिलाहरु आफ्नो आँसु पुछ्दै मलाई “अब भयो भयो हिँड यहाँ बस्न ठिक छैन” भनेर मलाई सान्तवना दिदैं छेउको दिदीको घरमा लग्यो । मेरो घर पुग्न उक्त ठाउँवाट झण्डै २० मिनेटको उकालो चढ्न त पथ्र्यो नै र रिच्योको घर मेरो घर सँगै थियो । अरु आइमाईहरुलाई पनि फेरि रिच्यो जाइ लाग्न सक्छ भनेर पनि थियो । त्यो रात टाउको सबै धेरैवेर दुखीनै रह्यो र निन्द्रा लाग्दै लागेन र अझै निदाउन सकेको छैन । मन अझै रुन्छ । आँखाको आँसु बाबा, साथी र पाहुनाहरु आउने वित्तिकै केहि छिनको हाँसोले छोप्ने कोशिश गर्छु । तैपनि मनको अविरल वग्दै आएको आँसु ?

तर फेरि केहि दिन पछि त्यो घटना विर्सने अवसर मिल्यो । झण्डै १० वर्ष पछि मेरो भाई र काका पनि आई पुग्नु भयो । भाई धेरै जसो पढाईको सिलसिलामा काठमाडौंमै बस्छ । त्यतिखेर मेरो खुसीको सीमा रहेन । तैपनि भाईले मेरो वेदना बुझिहाल्यो र सोध्न थाल्यो, “के भयो दिदी तपाईंलाई ?” र तिमीलाई पनि मैले सारा कुराहरु सुनाए पनि । थाहा छ भाईको खुशी एकैछिनमा पक्कै रोयो होला दिदीको वेदनामा साथ दिन नसक्दा । आँसुसँग तिम्रो दिदीको पुरानो मितेरी छ, म चिनी हाल्छु । खै कस्तो समय थियो त्यो, दुवै दिदीभाइ सँगै रोएको एकैछिन तर पनि कहिं खुशी पनि थिएँ, भाईको साथ पाउँदा त्यतिखेर । भाईले त्यतिखेर हिम्मत पनि नवडाएको पनि हैन, “दिदी, त्यस्तासँग डरले झुक्ने हैन, सिर ठाडो पारि जुध्न सक्न पर्छ । ” पवित्र माया पाउन कहाँ सकिन्छ र । त्यो दिन देखि पनि होला, तिम्रो दिदी त्यति डराएको पनि छैन र हारको दैलोमा पुगेको दिदी फेरि जित्ने कोशिश गर्दै छ, हरेक दिन, त्यस्ता रिच्यो कहलाइएको अहंकारी पुरुषहरुसँग । अब फेरि जाइ लागे, मार्न पनि पछि सर्ने छैन भन्ने अवस्थामा म पुगिसकेको छु, भाई र तिम्री डाँडापारि दिदीको वचन फरक पर्दैन पनि । ल त वावाले फेरि वोलाइ सक्नु भयो र विहानको ५ पनि बजिसकेको रहेछ । च्यालु च्याङग्राहरुलाई पर डाँडा पुर्याउनु पर्ने । यताको डाँडामा यो साल खै किन हो, घाँस त्यति उम्रेको छैन । तिम्री दिदीलाई नविर्सनु र सकेसम्म समाजको भलो हुने काम पढेर अवश्य पनि गर्नु । मेरो लाखौं प्रार्थना, तिम्रै लागि । 



उही तिम्री डाँडापारिको दिदी, 
किन्जोम ।      
   

Photos copyright belongs to the author, Tashi Tewa Dolpo.

Comments

Popular posts from this blog

‘A-lay med-ne dhan-da ka-lay kha-reyd’: A Monk, School and Dolpo #education

I WANT TO GO AND STUDY: UGYEN, HER STRUGGLES, DOLPO, AND SOWA RIGPA

aa-pa ma-jayn ji-tok ji-ge ma-rad: Kunga Lama, School and Dolpo #education #struggles #dolpo